मगर संघ, हङकङको २५ औं वार्षिकोत्सव सम्पन्न, विभिन्न व्यक्तित्व सम्मानित

हङकङ, २२ साउन
मगर संघ, हङकङको २५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवका अवसरमा विभिन्न व्यक्तित्व सम्मानित समेत भएका छन् ।
जस अन्तर्गत यस वर्षको वर्ष पुरुष–२०२२ बाट मगर संघ, हङकङ, नौमती बाजा समूहका अध्यक्ष हरि थापामगर र वर्ष महिला–२०२२ बाट मगर संघ, हङकङकी पूर्व महासचिव एवं लाङ्घाली समाज, हङकङकी अध्यक्ष निलम थापामगर सम्मानित हुनुभएको छ । थापामगरद्वयलाई हङकङका नेपाली महावाणिज्यदूत उदयबहादुर रानामगर र मगर संघ, हङकङका अध्यक्ष हर्कप्रसाद रानामगरले सम्मान गर्नुभएको थियो ।
त्यस्तै, विभिन्न विधातर्फ महत्वपूर्ण योगदान गरेका मगर व्यक्तित्वहरू समेत वार्षिकोत्सवका अवसरमा सम्मानित भएका छन् । जसमा शिक्षातर्फ टिका रानामगर, साहित्यतर्फ जुनु दिव्या रानामगर, सञ्चारतर्फ धर्मराज गुर्मछानेमगर, खेलकुदतर्फ शैलेन्द्र रानामगर, सांस्कृतिकतर्फ टिना थापामगर, नौमती बाजातर्फ कृष्णबहादुर नेपाली, व्यापारतर्फ सन्तबहादुर आलेमगर, सुरक्षा अधिकृत उत्तीर्ण गर्नुभएकोमा थल श्रीसमगर र नेपाल मगर महिला संघकी विदेश सचिव नीता थापामगरलाई सम्मान गरिएको थियो ।
मगर संघ, हङकङका अध्यक्ष हर्कप्रसाद रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष नेत्र पहराईमगर, हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, शोभा थापामगर, नेपाल मगर महिला संघकी विदेश सचिव नीता थापामगर, लाङ्घाली कल्याण समाज, हङकङकी अध्यक्ष निलम थापामगर, मगर महिला संघ, हङकङकी शर्मिला रानामगर, रोस गुमस्ठाकी अध्यक्ष टिना थापामगर, किरात राई यायोक्खाकी अध्यक्ष मायादेवी राई, तमु समाज, हङकङका अध्यक्ष कोमल गुरुङ, मगर संघ, हङकङका वरिष्ठ उपाध्यक्ष प्रेम थापामगर, महासचिव झलक थापामगरलगायतले बोल्नुभएको थियो । वार्षिकोत्सवमा महासचिव र कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन समेत सर्वसम्मतिले पारित गरिएको छ ।

Advertisment