एकता बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पौडेल

पोखरा, १७ भदौ
एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१४, कास्कीको ११ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा सुदर्शन पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
शुक्रबार सम्पन्न अधिवेशनबाट सहकारीको उपाध्यक्षमा तिलकप्रसाद तिवारी, सचिवमा रामबहादुर मगर र कोषाध्यक्षमा खुम थापामगर सर्वसम्मत निर्वाचित हुनुभयो । त्यसैगरी, सञ्चालक समितिका सदस्यहरूमा ज्योति तामाङ, विष्णु केसी अधिकारी, शक्ति बराल, बालुमाया पुन र प्रकाश केसी रहनुभएको छ । त्यस्तै, लेखा समिति संयोजकमा विश्वनाथ ओझा, सदस्यहरूमा देवकुमारी गुरुङ र प्रकाश पुन रहनुभएको छ । जयमोहन भट्टराई संयोजक, राजु देवकोटा र शान्ता देवकोटा सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत सञ्चालक समिति निर्वाचित गरेको हो ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाकी उपसभामुख सिर्जना शर्माले प्रदेशसभाले सहकारी विधेयक पास गरेर कानून बनाएपनि सही तरिकाले सरकारले कानूनको कार्यान्वयन गर्न नसकेको बताउनुभयो । सहकारी ऐन कार्यान्वयन सम्बन्धमा सही अनुगमनको आवश्यकता औंल्याउँदै उहाँले कानून बन्ने तर, थन्किएर बस्ने अवस्था हुनु दुःखद् भएको बताउनुभयो । उपसभामुख शर्माले सहकारीको नियमन र कानून कार्यान्वयनमा प्रदेश सरकारले ध्यान दिने विश्वास व्यक्त गर्दै राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार सहकारी भएको धारणा व्यक्त गर्नुभयो । त्यस्तै, रुपा गाउँपालिका, कास्कीका अध्यक्ष नवराज ओझाले सहकारीका माध्यमबाट रोजगारी सिर्जनामा सहकार्य गर्न गाउँपालिका तयार रहेको जनाउँदै उत्पादनमा जोड दिन सके मात्र अर्थतन्त्रलाई बलियो बनाउन सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा एकता सहकारी पत्रकारिता पुरस्कार–२०७९ बाट एबीसी न्यूज टेलिभिजनका गण्डकी प्रदेश ब्यूरो प्रमुख एमबी आस्था मगर, एकता सहकारी कलाकारिता पुरस्कार–२०७९ बाट गायिका सरिता सारूमगरलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य भीमकुमारी पुनमगर, पोखरा महानगरपालिका वडा नं. १४ का जनप्रतिनिधि कृष्णहरि काफ्ले, ज्येष्ठ शेयर सदस्य महिला बालमाया श्रेष्ठ, ज्येष्ठ शेयर सदस्य पुरुष कुलप्रसाद अधिकारी, उत्कृष्ट कारोबारकर्ता महिला धनमाया राना, उत्कृष्ट कारोबारकर्ता पुरुष छमबहादुर खत्री, उत्कृष्ट बचतकर्ताहरू राजीव शर्मा, विष्णु केसी अधिकारी, नारायणी अधिकारी सुवेदी, आस्था पौडेल र बुद्धकुमारी खड्कालाई सम्मान गरिएको थियो । त्यस्तै, उत्कृष्ट कर्मचारीहरूमा कर्जा विभाग प्रमुख शर्मिला केसी, काउण्टर विभाग प्रमुख अमृता रेगामी र बजार प्रतिनिधि यशोदा श्रेष्ठ थापामगरलाई सम्मान गरिएको थियो ।


सहकारी संस्थाका निवर्तमान अध्यक्ष बालासिंह काउछामगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नवराज सुवेदी, शेयर सदस्य शान्ता देवकोटा, सल्लाहकार बजिरमान श्रेष्ठ, सह–सचिव तिलकप्रसाद तिवारीले सहकारीका बारेमा बोल्नुभएको थियो ।

Advertisment