मिस मगर इन्टरनेशनलको ग्राण्ड फिनाले जेठ २० गते

काठमाडौं, २५ वैशाख
पहिलोपटक मिस मगर इन्टरनेशनल–सिजन १ हुने भएको छ । मिस मगर इन्टरनेशनललाई मगर समुदायकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मानिएको छ ।
मिस मगर इन्टरनेशनलको उपाधि बिजेतालाई १० लाख रुपैयाँ राशिको पुरस्कार राखिएको आयोजक संस्था सुनोगाभा नेपालका प्रतिनिधि एवं कलाकार रमेशबाबु थापामगरले जानकारी दिनुभयो ।
प्रतियोगिताको संरक्षकमा नेपाल मगर महिला संघ, केन्द्रीय समिति रहेको छ । मगर महिला संघ, हङकङ, मगर संघ, क्यानाडा, मगर संघ, संयुक्त अरब इमिरेट्स, मगर संघ, जापान, मगर युवा संघ, बेलायत मिस मगर इन्टरनेशनलको सहआयोजकका रुपमा रहेका छन् ।
“हाम्रो गौरव, हाम्रो शान, हाम्रो पहिचान, सशक्त मगर नारीको उत्पादन” भन्ने मूल नाराका साथ आयोजित यस सौन्दर्य प्रतियोगितामा भाग लिनका लागि यही वैशाख २२ गतेसम्म आवेदन माग गरिएको थियो । जसमा वैशाख २३ गते अनलाइनमार्फत् अडिसन गरी अन्तिम प्रतिस्पर्धाका लागि मगर युवतीहरू छनौट गरिएको थापामगरले जानकारी दिनुभयो । मगर समुदायका युवतीबीच प्रतिस्पर्धा गराइ प्रतिभाको प्रस्फुटन गराउने र मगर जातिको पहिचानलाई नयाँ पुस्तामा स्थापित गराउने यस प्रतियोगिताको उद्देश्य रहेको आयोजक संस्था सुनोगाभा नेपालका अध्यक्ष थमप्रकाश पुनले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी प्रतियोगीहरूको औपचारिक तालिम सोमबारदेखि सुरु भइसकेको छ ।
आगामी जेठ २० गते नेपाल प्रज्ञा–प्रतिष्ठानको भवन, कमलादी, काठमाडौंमा प्रतियोगिताको ग्राण्ड फिनाले हुने जनाइएको छ । प्रतियोगिता सफल बनाउन विभिन्न संघसंस्था तथा व्यक्तिहरूले साथ दिएका छन् ।

Advertisment