‘कञ्चन पत्रकारिता पुरस्कार’ हुम तमु र सुन्दर थकालीलाई

पोखरा, २७ साउन
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ बाट हुमबहादुर तमु (कास्की) र सुन्दरकुमार थकाली (मुस्ताङ) पुरस्कृत हुनुभएको छ ।
फोनिजको २४ औं स्थापना दिवसको अवसरमा (शनिबार) पत्रकारद्वयलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले पुरस्कार स्वरुप दोसल्ला, सम्मानपत्रसहित नगद रु २५ हजार अर्पण गर्नुभयो ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले स्वच्छ र स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरण सिर्जना गर्न स्वयम् पत्रकार नै जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो । उहाँले पत्रकारिता आफ्नै लयमा बगेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको आमसञ्चार विधेयक ल्याउने तयारी रहेको बताउनुभयो । उहाँले पछिल्लो समय स्वतन्त्रतको नाममा सामाजिक सञ्जालमा अराजकता फैलिएको टिप्पणी गर्नुभयो । उहाँले व्यक्तिको गुण वा दोषको आधारमा एकतर्फी समाचार संप्रेषण गरेको न्यायोचित नहुने धारणा राख्नुभयो ।
यस्तै, पुरस्कृत व्यक्तित्व हुमबहादुर गुरुङले आवश्यकता महसुस भएर पत्रकारितामा लागेको बताउनुभयो । उहाँले नेपाल विविधतायुक्त देशमा सम्पूर्ण समुदायको पहुँच स्थापना नभएको कारण सक्रिय पत्रकारितामा लागेको बताउदै पत्रकारिता भित्रै पनि असमानता रहेको धारणा राख्नुभयो । गुरुङले प्राप्त गरेको कञ्चन पत्रकारिता पुरस्कार अहिलेसम्मकै महत्वपूर्ण पुरस्कार रहेको बताउनुभयो । उहाँले फरक प्रसंगमा बोल्दै पत्रकारितालाई स्वच्छ बनाउनका लागि राजनीतिक पार्टी निकट हुनु नहुने धारणा राख्नुभएको थियो । यसैगरी, पुरस्कृत सुन्दरकुमार थकालीले आफुलाई पुरस्कृत गरेको भन्दै पत्रकारितामा थप उत्साह मिलेको बताउनुभयो । गण्डकी प्रदेशको शिरमा रहेको जिल्लामा पत्रकारिता गर्न सहज नरहेको उहाँले सुनाउनुभयो ।
पुरस्कृत हुमबहादुर तमु पोखराबाट प्रकाशित हुने कास्की आवाज दैनिकका प्रधानसम्पादक हुन् भने थकाली अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक र समाधान दैनिकका लागि मुस्ताङका संवाददाता हुन् । फोनिज गण्डकीका अध्यक्ष रूद्रबहादुर श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खिमा गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने पुरस्कार छनौट समितिकी सदस्य शान्ति गुरुङले पुरस्कृत व्यक्तित्वको बारेमा बोल्नुभएको थियो । सो अवसरमा मिस मगर नेपाल–२०२२ की थर्ड रनर अप प्रियंका गर्बुजामगरले नृत्य प्रस्तुत गरेकी थिइन् । पुरस्कार छनौटका लागि वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरको संयोजकत्वमा पाँच सदस्यीय पुरस्कार छनौट समिति गठन गरिएको थियो । जसमा शान्ति गुरुङ, एमबी आस्था मगर, रूद्रबहादुर श्रीसमगर र धनबहादुर गुरुङ सदस्य रहनुभएको थियो ।


फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङका अनुसार पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बाबुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गर्नुभएको हो । ५ लाख रुपैयाँदेखि सुरु गरिएको यस अक्षयकोषमा गुभाजु परिवारले हरेक वर्ष १ लाख थप गर्दै आएका छन् । यस वर्षपनि १ लाख थप गर्ने घोषणा गरेका छन् । हाल अक्षयकोषमा ९ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष प्रदान गरिँदै आइएको छ । सो पुरस्कारबाट यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना र लमजुङका आश गुरुङ पुरस्कृत भइसक्नुभएको छ ।

Advertisment