मगर समुदायमा राजनैतिक जागरण आवश्यक ः उपसभामुख थापा

दमौली, १५ फागुन
गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले मगर समुदायमा राजनैतिक जागरण आवश्यक रहेको बताउनुभएको छ ।


नेपाल मगर संघको ४२ औं स्थापना दिवस तथा मगर दिवसका अवसरमा मंगलबार तनहुँको दमौलीमा आयोजित कार्यक्रममा बोल्दै उपसभामुख थापाले राजनैतिक जागरणविना मगर समुदायलाई माथि उठाउन नसकिने धारणा व्यक्त गर्नुभयो । नेपाल मगर संघ, जिल्ला समन्वय समिति, तनहुँले आयोजना गरेको कार्यक्रममा उहाँले राज्यका हरेक निकायमा मगर समुदायको प्रतिनिधित्व र पहुँच बढाउँदै जानुपर्ने आवश्यकता रहेको बताउनुभयो । मगर समुदायलाई शिक्षित र सचेत बनाउँदै नेतृत्व विकासको आवश्यकता औंल्याउँदै उपसभामुख थापाले भाषा, धर्म, संस्कृति र भेषभूषाको संरक्षणका लागि एकजुट भएर जागरुक बन्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, नेपाल मगर संघका केन्द्रीय सल्लाहकार केशव सूर्यवंशीले राजनैतिक अधिकारसँगै भाषिक, सांस्कृतिक अधिकारको प्रयोग गर्नुपर्ने बताउनुभयो । विभिन्न क्षेत्रमा योगदान पु¥याएका मगर समुदायका व्यक्तित्वलाई सम्मान गर्नुपर्ने बताउँदै उहाँले समुदाय एकजुट नभएसम्म निर्णायक तहमा पुग्न असमर्थ हुने उल्लेख गर्नुभयो ।


कार्यक्रममा रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, नेपाल मगर संघका केन्द्रीय निर्वाचन समितिका संयोजक सिद्धान्त थापा, नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ, तनहुँका अध्यक्ष सुबेदार यामबहादुर आले, नेपाल मगर संघ, तनहुँका सल्लाहकार यामबहादुर आले, नेकपा (माओवादी केन्द्र), तनहुँका संयोजक मदन आलेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै मगर एकतामा जोड दिनुभएको थियो ।


नेपाल मगर संघ, तनहुँका अध्यक्ष खड्गसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मीना थापा, उपाध्यक्ष रिमा आले र सचिव केहरसिंह आले “बादल”ले पनि बोल्नुभएको थियो । कार्यक्रम अघि, मगर जातिको सांस्कृतिक झाँकीसहितको ¥यालीले दमौली बजार परिक्रमा गरेको थियो । सो अवसरमा मगर जातिको लोकप्रिय मौलिक नाच कौराहा समेत प्रस्तुत गरिएको थियो ।

 

Advertisment