तनहुँको भिमादमा मगर भाषा–लिपि प्रशिक्षण सुरु

भिमाद, १२ चैत्र
नेपाल मगर संघ, भिमाद नगर समिति, तनहुँको आयोजनामा सोमबारदेखि मगर भाषा–लिपि तथा संस्कारसम्बन्धी पाँच दिने तालिम सुरु भएको छ । सो तालिमको उद्घाटन गर्दै नेपाल मगर संघ, गण्डकी प्रदेशकी उपाध्यक्ष पवित्रा थापामगरले मगर भाषा संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्नु जरुरी रहेको बताउनुभयो । आफूमा भएको ज्ञान अरुलाई बाँड्नु सकारात्मक कुरा भएको भन्दै उहाँले मगर भाषा, लिपि र संस्कारको संरक्षणमा सबैले विशेष चासो दिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, नेपाल मगर संघ, तनहुँका अध्यक्ष खड्गसिंह थापामगरले भाषा र संस्कृति कुनै पनि जातिको पहिचानको लागि महत्वपूर्ण भएको भन्दै विकृति, विसंगति हटाउँदै संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । सो अवसरमा नेपाल मगर संघ, तनहुँका पूर्व अध्यक्ष झकबहादुर सारूमगर, भिमाद नगर समितिका पूर्व अध्यक्ष क्या. खड्गबहादुर थापामगर, वडा नं. ४ वडा समितिका अध्यक्ष क्षेत्रबहादुर रानामगरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल मगर संघ, भिमाद नगर समितिकी अध्यक्ष मनमाया आलेमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रवि थापामगर र उपाध्यक्ष याममाया थापामगरले स्वागत गर्नुभएको थियो । पाँच दिनसम्म चल्ने प्रशिक्षणमा प्रशिक्षक रूद्रबहादुर श्रीसमगरले सहजीकरण गर्ने सचिव रवि थापामगरले जानकारी दिनुभयो ।

Advertisment